झापा ।  शनिबार रातिको बर्षापछि गएको पहिरोले पुरिँदा इलाममा १५ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा एक दर्जनबढी बेपत्ता भएका छन् ।

इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । घटनामा अन्ष २ जना बेपत्ता भएका छन् ।

त्यस्तै माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँ वस्ने मदन लिम्बूको एक तले घरलाई माथिबाट खसेको बाँस र माटोसहितको पहिरोले पुरेको छ । उक्त घरमा ८ जना परिवार बस्दै आएकोमा ५ जनालाई सकुशल उद्धार गरिएको छ भने ३ जना मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै देउमाई नगरपालिका –५ धुसेनी वस्ने दिपक लिम्बूको घरलाई घरमाथिबाट पहिरो झरेर पुरेको छ । लिम्बूको घरमा ६ जनाको परिवार बस्दै आएकोमा एक जना बालक र अर्की बालिका मृत अवस्था फेला परेका छन् । एकजना बालिकालाई जीवितै फेला पारी उद्धार गरिएको र अन्य ३ जना बेपत्ता भएकाले खोजतलास भइरहेको छ ।

त्यस्तै देउमाई नगरपालिका –५ झारे बस्ने मनकुमार लिम्बूको काठ र बाँसको टाँटीबेराले बनेको दुई तले घरमा घर माथिबाट पहिरो खसेर पुरिँदा मनकुमार लिम्बूको घटनास्थलमा नै मृत्यु भएको छ । त्यस घरमा २ जना बसेकोमा एक जना महिला वेपत्ता भएकी छन् ।

त्यस्तै सूर्योदय।नगरपालिका –१ मानेभञ्याङ वस्ने राजु क्षेत्रीको घर पहिरोले पुरिँदा उक्त घरमा रहेका ३ जना पाहुनासहित ५ जना सदस्यमध्ये एकजना पुरुषलाई जिवितै उद्धार गरिएको छ । उनलाई उपचारको लागि भारतको सुकिया अस्पताल पठाइएको छ । आमा र नातिनी मृत अवस्थामा फेला परेका छन् भने अन्य २ जना बेपत्ता भएका छन् । उनीहरुको खोजतलास भइरहेको छ ।

यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एकजनाको मृत्यु हुनुका साथै एकजनाको अवस्था गम्भीर छ । माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यस्तै, सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एकजना, माङ्सेबुङ गाउँपालिका–१ मा १ गर्भवती महिला र १ पुरुष गरी २ जना गम्भीर घाइते छन् । उता इलामकै फाकफोकथुम–३, आमचोक रातमाटेमा पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ ।