बिर्तामोड । झापाको बिरिङ खोलामा छठ पूजाको भब्य तयारी गरिएको छ । पुजाको समयमा बढी भीडभाड हुँदा सुरक्षामा चुनौती देखिएको छ ।
छठ समाज सेवा समिति बिर्तामोडले बिरिङ खोलामा छठ पूजाको लागि करिव तयारी पुरा भइसकेको बताउँदै यस वर्ष घाटमा १७५ वटा स्टल रहने जानकारी दिएको छ ।
गत वर्ष १५४ वटा स्टल थिए । ब्रतालुहरुको संख्या थपिएपछि यस वर्ष २१ वटा स्टल थप्नु परेको छठ समाज सेवा समितिकी अध्यक्ष संगीता रौनियारले पत्रकार सम्मेलनमा बताइन् । उनले अहिलेको परिस्थितिमा सुरक्षा चुनौती रहेको बताउँदै सुरक्षा व्यवस्थाका लागि सबै सुरक्षा निकायसंग आग्रह गरिएको जानकारी दिइन् । त्यसका अतिरिक्त निजी सुरक्षागार्डको प्रबन्ध मिलाइएको उनले बताइन् ।
संस्थाका पूर्व अध्यक्ष घनश्याम चौधरीले छठ पूजाको सुरक्षाका लागि जनपद र सशस्त्र प्रहरीलाई आग्रह गरिएको बताए । त्यस्तै अर्का पूर्व अध्यक्ष देवेन्द्रकुमार सिंहले सुरक्षा निकायका सुरक्षाकर्मीसंगै ३० जना निजी सुरक्षागार्ड राखिने जानकारी दिए । कार्यक्रममा मूल समितिका संयोजक राजकुमार शाहले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । छठ पूजाका लागि मूल समितिसंगै विभिन्न उपसमितिहरु गठन गरिएको छ ।



















