बिर्तामोड । झापाको दमकमा देउसी भैलो खेल्न हिडेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा अन्य २१ जना घाइते भएका छन् ।
गएराति १२ बजे दमक नगरपालिका-२ पाङ्गिनी चोकको भित्री सडक खण्डमा दमकबाट देउसी भैलो कार्यक्रमको लागि मोरङको टाडी तर्फ जांदै गरेको बस दुर्घटनामा परेको थियो ।
बा २ ख १९८३ नम्बरको बस आँफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
३५ जना सवार बस पल्टिँदा मोरङको मिक्लाजुङ गाउपालिका-३ बस्ने बर्ष ३६ को भिम बहादुर मगरको मृत्यु भएको छ । मगरको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनामा मोरङको मिक्लाजुङ गाउपालिका-३ बस्ने सिता मगर, उनका छोरा योगेश मगर, विपिन श्रेष्ठ, नन्दमाया मगर, आशिन लिम्बु, राम कुमारी मगर, सिता मगर, रोनिशा दर्जी, टंक बहादुर गुरुङ, साजन श्रेष्ठ र बिष्णु कुमारी लिम्बु घाइते भएका छन् ।
यसैगरी सोही स्थानका निकेश भुजेल, शिसिर राई, प्रेम रसाईली, रुपा रसाईली, सन्दिप रसाईली, राजन श्रेष्ठ, एन्जिला जोगी, पुनम मगर र अनुसा मगर घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय लाइफलाईन अस्पतालमा उपचार भईरहेको छ । बस चालक सोही स्थानका भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै हिजो साँझ मेचीनगर नगरपालिका-९ लिलाबस्तीको भित्री सडक खण्डमा धुलाबारी बजारबाट लिलाबस्ति तर्फ जादै गरेको प्र.१-०१-००२ ह.२२७२ नं.को सिटी सफारीले सोही स्थानकी सुकमाया बराइलीलाई ठक्कर दिएको थियो ।
उनलाई स्थानीय आम्दा अस्पताल धुलाबारीमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिर्तामोड पठाईएको छ ।
सिटी सफारी चालक दिनेश घतानी फरार रहेकोले खोजतलासको कार्य भई जारी रहेको छ । सिटी सफारी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
यता बिर्तामोडको अग्रसेन भवन अगाडि भएको दुर्घटनामा एकजना बालक घाइते भएका छन् । को १२ प २२६० नंबरको मोटरसाइकलले पैदलयात्री सोही स्थानका बिशाल खनालको ८ बर्षका छोरा नोबेल कृष्ण खनाललाई ठक्कर दिएको थियो । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















