बिर्तामाेड । झापाको मेचीनगर-१३ स्थित हातेमालो सामुदायिक वनभित्र एउटा कार हुलेर चालकले आगजनी गरेका छन् । कारमा आगजनी गरेर चालक फरार रहेकाे बताइएकाे छ ।
आज विहान १० बजेतिर चन्द्रगढी–चारआली सडकअन्तर्गत हातेमालाे सामुदायिक बनकाे जंगलभित्र लगेर कारमाथि आगजनी गरिएको हो । आगजनीबाट कार जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सडकदेखि करिव २ सय मिटर पश्चिम जंगलमा कार लगेर आगो लगाएर चालक भागेको हातेमालो सामुदायिक वनका अध्यक्ष चन्द्र सिग्देलले बताए ।
सो कार झापाकाे शिवसताक्षी नगरपालिका १० माईधारका सरोज शर्माको भएको खुलेको छ । बाग्मती प्रदेश ०१–०३ च ७१९४ नं कारसहित शर्मा चार दिन अघिदेखि वेपत्ता भएका थिए । कात्तिक ९ गते दिउँसो ४ बजे शर्मा घरमा कोही कसैलाई नसोधि घरबाट सो कार लिएर गई सम्पर्कबिहीन बनेका थिए । कारलाई चालकले जंगलमा आगो लगाइदिएर भागेको अनुमान गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
















