बिर्तामोड । नेपाली कांग्रेस महासमिति सदस्य बिश्वदीप लिङदेनका छोरासहित तीनजना जेनजी आन्दोलनका क्रममा काठमाण्डौको प्रहरी कार्यालयबाट लुटिएका दुईवटा हतियार र २० राउण्ड गोलीसहित पक्राउ परेका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियार र गोलीसहित झापा दमक-६, प्रशान्ती टोल बस्ने कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा २९ वर्षीय विश्व लिङ्देन, दमक-९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली -४ आइतवारे बस्ने ३० वर्षीय पवन हाङसरुम्बा पक्राउ परेका हुन् ।
गएराति ८ बजे लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले दमक ९ स्थायी ठेगाना भई दमक ८ मा डेरा बस्दै आएका सरोज पुरीलाई कोठा बाहिर बाटोमा हिडडुल गर्दै गरेको अवस्थामा उनको साथबाट चाइनिज पेस्तोल थान १ र सोको गोली १५ राउण्डसहित फेला पारी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाएको थियो ।
पुरीलाई इप्रका दमकमा ल्याई सोधपुछ गर्दा उनले दमक ६ प्रशान्ती टोल बस्ने कांग्रेस नेता लिङ्देनका छोरा विश्व लिङ्देनलाई अर्को हतियार राख्न दिएको बयान दिएका थिए । त्यसको आधारमा लिङ्देनलाई उनको घरबाटै पक्राउ गरिएको थियो । लिङ्देनलाई थप सोधपुछ गर्दा उनले इलाम चुलाचुली ४ बस्ने पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा सो हतियार बेचेको बताएका थिए ।
त्यसपश्चात् लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र इप्रका दमकबाट खटिएको टोली संयुक्त रुपमा उक्त स्थानमा पुगेर हेर्दा हाङसरुम्बाले आफ्नै बारीमा खाल्डो खनी रातो रंगको प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा चाइनिज पेस्तोल थान १ , सोको राउण्ड ५ पेस्तोलमा लोड गरी राखेको खिया लागेको अवस्थामा फेला परेको थियो । उनलाई समेत पक्राउ गरी इप्रका दमक ल्याइएको थियो । बरामद हतियारसहित तीनै जनालाई आबश्यक कार्वाहीको लागि काठमाण्डौ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।
२०६४ सालमा तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका लिङ्देनले एमाले अध्यक्ष केपी ओलीलाई हराएपछि चर्चामा आएका थिए । माओवादीमा आर्थिक अपचलनको बिषय उठेपछि उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माको निकट मानिने उनी शर्माकै तर्फबाट महासमिति सदस्य चयन भएका थिए । लोकतान्त्रिक आदिवासी जनजाति महांघका कोशी प्रदेश अध्यक्षसमेत रहेका उनी संविधानसभा सदस्य रहेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेस्तोलसहित पक्राउ परेका थिए ।




















