झापा । भारतको गोवामा नाइट क्लबमा भएको आगलागीमा परी मृत्यु भएका दुई झापाली युवाको शव घर ल्याइएको छ ।
हिजो दिउँसो भद्रपुर-५ स्थित मेची पुल हुँदै भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा मृत्यु भएका भद्रपुर-३ गोलेचोक बस्ने २० वर्षीय सबिन विक र कचनकवल-२ बालुबारी बस्ने २१ वर्षीय सुदीप गुरुङको शव ल्याइएको हो ।
दुवै जनाको डब्लुबी ३७५ एएफ ३१५२ नम्बरको भारतीय एम्बुलेन्सद्वारा उनीहरूको आफन्तले शव अन्त्येष्टिको लागि बुझेर नेपाल ल्याएको झापा प्रहरीले जनाएको छ । सुदीपको अन्त्येष्टि हिजै गरिएको र सविनको आज गरिने आफन्तले जनाएका छन् ।
गत शनिवार मध्यरातमा गोवाको एक व्यस्त नाइट क्लबमा भएको आगलागीमा परी ती दुई झापाली युवाको मृत्यु भएको हो । सुदीप होटेल म्यानेजमेन्ट अध्ययनका लागि भर्खरै गोवा गएका थिए ।
सविन केही वर्ष अघिदेखि सो नाइट क्लबमा सेफको रूपमा कार्यरत रहेको बुझिएको छ । सो घटनामा चार नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने अन्य दुई नेपालीको नाम र वतन खुल्न सकेको छैन।



















