बिर्तामोड । झापाका इन्टरलक कङ्क्रिट उद्योग व्यवसायीले नेपाल गुणस्तर (एनएस) चिन्हका नाममा सिण्डिकेट खडा गरेर सिमित व्यक्तिहरुले राज्यकोषमा ब्रम्हलुट गरिरहेको आरोप लगाएका छन् ।
नीतिगत तहबाटै एउटा उद्याेगलाई लक्षित गरेर 'निश्चित मापदण्डको सामग्री मात्र प्रयोग गर्ने' निर्णय गर्ने गरिएकाे आराेप उनीहरुकाे छ । मंगलबार दुर्गापुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले सेटिङका कारण झापाका ५० वटाभन्दा बढी साना उद्याेग बन्द हुने अवस्थामा पुगेकाे बताएका छन् ।
'एनएस गुणस्तरको नाममा हामीमथि अन्याय भइरहेको छ, जनता पनि विकास निर्माणको काममा ठगिदै छन,-झापा जिल्ला इन्टरलक कङ्क्रिट उद्योग व्यवसायी संघका अध्यक्ष टिकाराम अधिकारीले भने-'एनएस प्रयोग गरेर १०० मिटर बन्ने सडक हामी २०० देखि २५० मिटर बनाउन सक्छौ ।' ल्यावमा लगेर परिक्षण गरिएको खण्डमा एनएस गुणस्तर प्राप्त गरेको भन्दा बलियो ब्लक निर्माण गर्ने दावी साना उद्योगीको छ ।
हामी ८ बर्षको ग्यारेन्टी र त्यसपछिका अरु बर्ष वारेन्टी दिएर काम गर्छौं- अधिकारीले भने-'भारवहन क्षमता नचाहिने स्थानमा पनि त्यहि ब्लक प्रयोग गर्न लगाएर राज्यकोष दुरुपयोग गर्ने काम भइरहेको छ । सरकारी कार्यालयले अन्य ब्लक प्रयोग गरेर गरिएको निर्माणको भुक्तानी गर्न अनेक समस्या खडा गरिदिन्छ ।'
धेरै लोड बोकेर सवारी चल्ने सडकमा एम-३० देखि माथिका ब्लक प्रयोग गरिन्छ । तर, बिद्यालयको पार्किङ, साईकल लेन, एकाघर पुग्ने सडक, खेल मैदान, फुटपाथमा समेत एम-४० का ब्लक प्रयोग भएका छन् । एम-२० र ३० मा प्रति स्क्वायर फिटमा २५ देखि ५० रुपैया मुल्यमा फरक पर्ने व्यवसायीकाे दावी छ । संघका उपाध्यक्ष झमकबहादुर गौतमले राज्यले नै साना तथा मझौला व्यवसायीलाई बिस्थापित गर्ने नीति लिएको आरोप लगाउँछन ।
'कोशी प्रदेशमा दुईवटा एनएस मान्यता प्राप्त उद्योग छ, राज्यबाट हुने निर्माणमा तिनिहरुको एकाधिकार छ, गौतमले भने-'नीति निर्माण तहदेखि कर्मचारीसम्मको मिलेमतोमा यहाँ एकाधिकार खडा गरिएको छ । उनले ठूलो आर्थिक चलखेलका कारण जिल्लाका ५० ओैं व्यवसायीले व्यवसाय सञ्चालन गर्न कठिन बनाइएको आरोप लगाए ।
अनावश्यक स्थानमा पनि एनएसको नाममा ठुलो रकम खर्च भइरहेकोले राज्यको व्ययभार कम गराउन एनएस प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था अन्त्य गर्न उनले अनुरोध गरेका छन् । कोशी प्रदेशबाट बिनियोजित रकमले ठेक्का खुल्दै 'एनएस वा साे सरहकाे ब्लक प्रयोग गर्ने' भनेर खुलाउने गरेको प्रति नागरिकस्तरबाट आवाज उठ्नुपर्ने उनले बताए । ब्लक निर्माण गरेर संरचना बनाउँदा ५ बर्षे ग्यारेन्टी हुन्छ। तर, एनएस मान्यता प्राप्त भनेकाे अर्जुनधाराकाे बिल्डकन ईण्डष्ट्रिजले निर्माण गरेकाे ब्लक दुई बर्षमै फुट्ने गरेकाे छ ।



















