बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
आज ५ गते साँझ करिब ५:३० बजेको समयमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक झापा भद्रपुर नगरपालिका–५ निवासी २५ वर्षीय भूपाल अधिकारी र मोटरसाइकलमा सवार नाम, थर र वतन नखुलेका करिब २५–२६ वर्ष उमेरका एक पुरुष गम्भीर घाइते भएका थिए। घाइते दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकोमा चिकित्सकले साँझ ६:१५ बजे दुवै जनालाई मृत घोषणा गरेका थिए।
मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।



















