झापा । रौतहटको कटहरिया नगरपालिका–९ काे ज्योति डिस्टिलरीमा शनिबार बिहान इन्धन वा पानी तताउने कन्टेनर विस्फोट हुँदा एक कामदारको घट्नास्थलमै मृत्यु भएको छ ।
विस्फोटमा परि ६ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।
बिहान इन्धन वा पानी तताउने कन्टेनर विस्फोट हुँदा डिस्टिलरीको काम गरिरहेका ८ जना मध्ये कटहरिया नगरपालिका–९ बलुवा गाउका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको छ ।
शक्तिशाली विस्फोट भएकाले डिस्टिलरी परिसरमा क्षति पुगेको छ । प्रहरीका अनुसार विस्फोटमा परि मृतक यादवलाई उडाएर रोड पारी पुर्याएको थियो । जिल्ला प्रहरीका अनुसार विस्फोटमा परि डिस्टलरीमा काम गर्ने रहमोद आलम, प्रमजित यादव, जगदिश यादव घाइते भएका छन् । जगदिश, मुकेश र बिगन यादवको हात खुट्टा जलेको छ । उनीहरुको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगजतर्फ रेफर गरिएको छ । जलेका घाइतेलाई राजधानी लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ । विस्फोटको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले विस्फोट भएको क्षेत्रमा गरुडा, बिजयपुरबाट समेत प्रहरी परिचालन गरिएको एसपी कार्कीले बताए ।



















