बिर्तामोड । बिर्तामोडमा सम्पन्न छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा न १० ले हात पारेको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा वडा न १० ले वडा न ३ लाई गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो ।

उपाधिसँगै वडा न १० ले नगद १ लाख रुपैया पुरस्कार पायो । वडा न ३ ले भने ५० हजार रुपैया पुरस्कार पायो ।

वडा न १० का सुजन लिम्बु र घनश्याम कार्कीले गोल गर्न सफल भएभने वडा न ३ का सञ्जय हस्दाले एकमात्र सान्त्वना गोल गरेका थिए ।

फाइनल खेलका प्लेयर अफ द म्याच आरके कन्दङवा भए । उनले नगद १ हजार ५०० रुपैया पाए ।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट वडा न १० का सौरभ लिम्बु भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट गोल किपर वाल्मीकि राई, उत्कृष्ट मिडफिल्ड उत्सव राई, उत्कृष्ट स्ट्राइकर आशिष् चापागाईं, उत्कृष्ट डिफेन्स खेसेहाङ लिम्बू र उत्कृष्ट कोच सुरेन तुम्रोक भए । उनीहरुले जनही ५ हजार रुपैया पुरस्कार पाए ।

पुस ४ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरका ९ वटा वडाका खेलाडिको सहभागिता रहेको थियो । बिर्तामोड नगर खेलकुद विकास समितिले हरेक बर्ष क्यालेन्डरमा राखेर वडा स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको सचिव विसन लिम्बुले जानकारी दिए ।

यस्तै दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिताको उपाधि पनि वडा न १० ले हात पारेको छ । 

उपाधिसँगै बिर्तामोड-१० ले २५ हजार रुपैया पुरस्कार प्राप्त गरेको छ । उपपिजेता बिर्तामोड-५ ले १५ हजार रुपैयामा चित्त बुझायो । 

आइतबार सहिद नेत्र पार्कको खेल मैदानमा आयोजित फाइनलमा वडा न १० ले वडा न ५ लाई ३-० ले पराजित गर्यो ।

वडा न १० का लागि महेश राईले दुई र दिलेन लोक्तामले १ गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच बिर्तामोड-१० का महेश राई भए उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए । 

प्रतियोगितामा नगरका ८ वटा टिमको सहभागिता रहेको थियो । पुस ४ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबारको फाइनलसँगै समापन भएको छ ।