बिर्तामोड । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी पक्राउ परेका छन् ।

राजबंंशीलाई बुधबार साँझ प्रहरीले घरबाटै नियन्त्रणमा लिएको हो । पुस २९ गते स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजित भाक्का दिवसको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई गाली गलौज गरेको आरोप लागेको छ ।

राजवंशी समाज विकास समितिको अधिवेसनमै समानान्तर कमिटी बनेको थियो । दुई समुहबीच आधिकारिकताको विषयमा विवाद कायम थियो ।

अभयको समुहले लामो समयदेखि भाक्का दिवस मनाउदै आएको छ । अर्को समुहले भाक्का दिवस स्थगित गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएको थियो ।

सम्भावित झडपको अवस्थालाई ध्यान दिदै प्रशासनले भाक्का दिवसको कार्यक्रम स्थगित गर्न निर्देशन दिएको थियो ।

कार्यक्रम स्थगनको पत्र आएपनि भाक्का दिवसको कार्यक्रम सम्पन्न भएको थियो । सो क्रममा बोल्दै राजबंशीले कार्यक्रम स्थगन गर्न निर्देशन दिने झापाका प्रमुख जिल्ला अधिकारीलाई कुर्सीमा बस्न नैतिक रुपमा नमिल्ने बताएका थिए ।

उनले झापाका सिडियो शिवराम गेलालले राजवंशी समुदायको अस्तित्वमाथि खेलवाड गरेको अभियोग लगाएका थिए ।

यसैबीच सविना राजवंशी, रमेश राजवंशीसहित बिर्तामोडको नाइट लाइफ बारमा खाना खादै गरेको बेला पक्राउ परेका राजवंशीलाई जिल्ला प्ररहरी कार्यालयमा राखिएको छ । सविनालाई भने राती नै रिहा गरिएको छ ।

राजवंशी समुदायले अध्यक्ष अभयको पक्राउपछि बिरोध प्रदर्शन गर्ने बताएका छन् । उनीहरुको आज जिल्ला प्रहरी कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको बताइएको छ ।