बिर्तामोड । बिर्तामोड नगरपालिका-७ स्थित खोपवारीमा हिजो साँझ स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार साँझ करिब ८.२५ बजेको समयमा प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ९१९९ नम्बरको स्कुटी अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो।
दुर्घटनामा स्कुटी चालक बिर्तामोड–७ का करिब ३५ वर्षीय सुवास मादेन गम्भीर घाइते भएका थिए । घाइते मादेनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो । चिकित्सकले जाँच गर्दा साँझ ८.५५ बजेको समयमा उनलाई मृत घोषणा गरेको अस्पतालले जनाएको छ ।
यसैबीच अव्यावस्थित रुपमा बिजुलिको पोल गाडेका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले सोही स्थानमा सडक निर्माण गरिरहेको समता कन्स्ट्रक्सनको कार्यालय तोडफोड गरेका छन् ।
स्थानीयको आक्रमणबाट १ वटा जेसिबीको सिसा, प्र १-०१-००२ च ०१६४ नम्बरको बोलेरो पिकअपको सिसा, मे३प ९३३, मे ७प ८०७८, प्र१-०१-०१६ प ५९५१ नम्बरको मोटरसाइकल, २ थान प्रिन्टर, १ थान ल्यापटप, १ थान कम्प्युटर तथा फर्निचरको सामाग्रीहरु, कार्यालयको झ्यालको सिसा तथा मेन गेटमा क्षति पुगेको जनाइएको छ ।
प्रहरीले समन्वय गरेर आज छलफल गर्ने सहमतिपछि भिडको आक्रोश शान्त भएको थियो ।



















