बिर्तामोड । झापा गोल्डकपको सातौं संस्करण शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेकी थिइन् ।

प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख प्रसाईंले मैदानको संरचना निर्माण गर्न नगरपालिका तयार रहेको बताउँदै जमिनको स्वामित्वको विवादका कारण लगानीको वातावरण नबनेको बताइन् ।

आयोजक समितिका अध्यक्ष केदार गिरीले झापा गोल्डकपले नेपालीलाई एकताको सुत्रमा बाँध्ने माध्यम भएको दाबी गरे ।  उनले झापालाई फुटबलको हब बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपालकै उत्कृष्ट खेल मैदान डोमालाल राजवंशी रंगशाला भएको बताउँदै उनले गोल्डकपका संरक्षक जलकुमार गुरुङले झापा गोल्डकपले नेपालको फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल हुँदै गएको बताए ।

प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, डोमालाल राजवंशीको शालिक अनावरण गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष विनोद बस्नेतको सम्मानमा पूर्वेली युथ क्लबले मार्चपास गरेको थियो ।