झापा । चेलिबेटी बेेचबिखन नियन्त्रणमा सक्रिय भूमिका खेल्दै आएको आफन्त नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले शंकास्पद रुपमा भारत जाँदै गरेका ५ जना महिलालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुबाट ५ लाख ९९ हजार ५४० भारतीय रुपैया र १७ हजार ८१५ रुपैया नेपाली रुपैंया समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
हिजो बेलुका ५ बजेको समयमा शंकास्पद रुपमा भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले खोटाङको साबिक सुङ्देल-४ जन्म भई हाल सुनसरीको बराहक्षेत्र-३ नडाह बस्ने बर्ष ३० की मेनुका राई, सोही स्थानकी बर्ष २८ की प्रमिला राई, बर्ष २१ की मनिषा माझी, सिन्धुपाल्चोकको बलेफी-६ बस्ने बर्ष २५ की सरिता तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरुलाई गुल्मीको साबिकको अर्खले गाविस-८ घर भई हाल भारतको आसाम गुहाटी बस्ने बर्ष ५९ की लिला देवी भन्ने रामपियारी पन्थीले हङ्कङ लैजानका लागि भारतीय कागजातहरु बनाई दिने प्रलोभनमा भारततर्फ लादै गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका महिलालाई आफन्त नेपालको जिम्मा लगाएको छ भने पन्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।



















