बिर्तामोड । झापाका विभिन्न स्थानमा बुधबार बिहानदेखि बेलुकासम्म परेको वर्षासहितको हावाहुरी र असिनाले भौतिक संरचनामा क्षति पुर्याएको छ।
बिहान करिब ८ बजे आएको हावाहुरीका कारण दमक नगरपालिका–४ कृष्ण मन्दिर नजिक पूर्व–पश्चिम लोकमार्ग किनारमा रहेका विद्युतका पाँच वटा पोल ढलेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले घटनास्थलमा पुगेर बुझ्दा तीमध्ये एक पोल स्थानीय ६५ वर्षीय टंक कटुवालको जस्तापाता छानो भएको दुईतले घरमा खस्दा सामान्य क्षति भएको जनाइएको छ। विद्युत प्राधिकरणसँग समन्वय गरी पोल हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, बिहान करिब ८:३० बजे आएको हावाहुरीले कमल गाउँपालिका–२ छलफलचोकस्थित हाईजिङ प्याक्स नेपाल प्रालि (जुस उद्योग) मा ठूलो क्षति पुर्याएको छ। उद्योगको माथिल्लो भागमा रहेको ट्रस तथा टिन हावाले उडाएर नष्ट गरेको प्रहरीले जनाएको छ। क्षतिको यकिन विवरण भने खुल्न सकेको छैन। घटनामा मानव तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।
बेलुका करिब ५:३० बजे परेको असिनासहितको वर्षाले पाठामारी क्षेत्रमा रहेको एक भान्सा घरको जस्तापाता पूर्ण रूपमा क्षति भएको छ। टिनमा प्वाल परेपछि हाल घरधनीले ब्रान्डामा खाना पकाउन बाध्य भएको जनाइएको छ।
उक्त समयमा नै भद्रपुर नगरपालिका–३ ज्ञानेचोक क्षेत्रमा पनि असिनाले तीन घरमा क्षति पुर्याएको छ। उमेश मगर, हेमबहादुर लिम्बु र दिलबहादुर राईका एकतले घरको टिनमा प्वाल पर्दा जनही करिब २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।



















