बिर्तामोड । झापाका विभिन्न स्थानबाट फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले फरक–फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बिर्तामोड नगरपालिका–६ बुट्टाबारीबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी सुमन भन्ने सूर्यवंशी रायलाई पक्राउ गरिएको छ। उनलाई झापा जिल्ला अदालतको २०८१ मंसिर फैसलाले १० महिना ५ दिन कैद र ४ सय रुपैयाँ जरिवाना तोकेको थियो। प्रहरी निरीक्षक सन्तोष राई नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिई अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ।
त्यस्तै, मेचीनगर नगरपालिका–६ आदर्श टोलबाट सुनिता राजवंशी पक्राउ परेकी छन्। उनलाई बैंकिङ कसुर मुद्दामा १० दिन कैद र १२ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो।
यसैगरी, शिवसताक्षी नगरपालिका–८ झिलझिले बजारबाट चेक अनादर मुद्दाकी बबिता घिमिरे पक्राउ परेकी छन्। उनलाई १५ सय रुपैयाँ जरिवाना तोकिएको थियो। प्रहरीले उनलाई अदालतमा उपस्थित गराएपछि जरिवाना तिरेर रिहा भएकी छन्।
यस्तै, शिवसताक्षी नगरपालिका–१० बाट पशुपन्छी सम्बन्धी मुद्दाका फरार प्रतिवादी ३७ वर्षीय कुमार भन्ने शन्त कुमार प्रधान पनि पक्राउ परेका छन्। उनलाई १ वर्ष कैद सजाय तोकिएको थियो। पक्राउपछि अदालतमा पेश गरिएर तोकिएको जरिवाना तिरेपछि रिहा भएको प्रहरीले जनाएको छ।
प्रहरीले फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई तीव्रता दिएको जनाएको छ।



















