झापा । गएराति आएको हावाहुरी तथा असिनापानीका कारण भद्रपुर नगरपालिका–३ सतार बस्तीका स्थानीयवासीका घर तथा सम्पत्तिमा क्षति पुगेको छ।

मिति २०८२ चैत १४ गते राति आएको अविरल हावाहुरी र असिनापानीले चार घरमा क्षति पुर्‍याउँदा करिब १ लाख ३० हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरी चौकी मेचिपारीले जनाएको छ।

प्रहरीका अनुसार बुधय मुर्मुको टिनको छानो तथा बेरा भएको एकतले घर हावाहुरीले उडाउँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने उनका २० वटा कुखुराका चल्ला मरेका छन्। त्यसैगरी, कमल गणेशको घर पूर्ण रूपमा क्षति हुँदा करिब १५ हजार, दुखिया महत्तोको भान्सा घरमा करिब ३५ हजार र मिस्ती राजवंशीको घरमा करिब ३० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ। प्रभावित परिवारलाई आवश्यक सहयोगका लागि स्थानीय निकाय तथा सरोकारवाला निकायसँग समन्वय भइरहेको जनाइएको छ।