झापा । इलामको रोङ गाउँपालिका–४ बाघखोरस्थित मेची राजमार्गमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार साँझ करिब १८:२० बजे माथिबाट झरेको पहिरोले दुबै तर्फको यातायात ठप्प बनाएको हो।

पहिरोमा परेर इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ। तर, उक्त घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ।

प्रहरी चौकी किटेनी, इलामबाट प्रहरी सहायक निरिक्षक याम चन्द्र कार्कीको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएको छ।

हाल सडक पूर्ण रूपमा बन्द रहेको र सडक डिभिजन कार्यालय इलामसँग समन्वय गरी पहिरो पन्छाउने तथा यातायात सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।