झापा । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलेर नेपाल भित्र्याइएका विभिन्न सामानहरू बरामद गरेको छ। फरक–फरक स्थानबाट लाखौं मूल्य बराबरका सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आज साँझ करिब ७:४५ बजे भद्रपुर नगरपालिका–५ स्थित नेपाल–भारत सीमाको ९९ नम्बर पिलर, राईबस्ती क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा करिब ७ लाख बराबरको इलेक्ट्रोनिक सामान बरामद गरेको हो।
प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको कमाण्डमा खटिएको टोलीले ४० थान इलेक्ट्रिक ब्रस, ५९ थान स्मार्ट वाच, ३ थान अलार्म डक स्टेशन तथा ५ पत्ता कभर फेला पारेको जनाएको छ। सामान ल्याउने व्यक्ति भने प्रहरीलाई देख्नासाथ फरार भएको र खोजी कार्य जारी रहेको छ।
त्यस्तै, साँझ ६:०० बजे मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर नजिक इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको अन्य सामान समेत बरामद गरेको छ। उक्त स्थानबाट ढोकामा प्रयोग हुने १ हजार२०० पिस कब्जा र ४ हजार ५०० पिस रबरका वासर गरी जम्मा रु. १ लाख २० हजार बराबरको सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामान सम्बन्धित प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।




















