बिर्तामोड । झापाको अर्जुनधारामा इण्डो नेपाल अण्डर–१३ टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । चैत २७ गतेदेखि सुरु हुने प्रतियोगितामा भारतका दुईसहित १० टिमको सहभागिता रहने आयोजक नगर खेलकुद बिकास समितिले पत्रकार सम्मेलन गरेर जनाएको छ ।
प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुने छ । ‘१० वटा टिमलाई दुईवटा समूहमा बिभाजन गरिने छ, सहआयोजकसमेत रहेको बोस्टन क्रिकेट एकेडेमीका सञ्चालक विनित बाँस्तोलाले भने– दुईवटै ग्रुपमा रहेका प्रत्येक टिमले चारवटा टिमसँग प्रतिष्पर्धा गर्ने छ, अंकका आधारमा पहिलो र दोस्रो हुने टिम सेमिफाइनलमा सहभागी हुने छन् ।’
प्रतियोगितामा भारतको कोलकाता र पटनाका दुई टिमको सहभागिता रहनुले यसको महत्व बढेर जाने आयोजकको बिश्वास छ । खेलाडी पहिचान, उत्पादन तथा व्यवसायिकताको लागि यस्तो प्रतियोगिता महत्वपूर्ण हुने आयोजकले जनाएको छ ।
१२ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले १ लाख रुपैया तथा उपबिजेताले ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ । कुल ७ लाख २३ हजार रुपैंयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रतियोगितामा लिग चरणको प्लेयर अफ द म्याचले १ हजार, सेमिफाइनल चरणमा २ हजार फाइनलमा ५ हजार तथा उत्कृष्ठ खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।
कार्यक्रममा अर्जुधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देनले अहिलेको समयमा बालबालिकाहरु डाक्टर, ईञ्जिनियर मात्र नभएर खेलेरै जिविकोपार्जन गर्न सक्ने समय बिकास भएको बताए । उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन तथा बिभिन्न तालिम उपलब्ध गराउँदै आएको जानकारी दिए ।
कार्यक्रममा वडा न १० का अध्यक्ष खगेन्द्र ईङनाम तथा वडा न ६ का अध्यक्ष हरिसचन्द्र बाँस्तोलाले प्रतियोगितालाई सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका थिए । नगर खेलकुद बिकास समितका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब खगेन्द्र लिङदेन तथा सदस्य तिलक योञ्जनले स्वागत गरेका थिए ।




















