बिर्तामोड । झापाको बिर्तामोडमा कोशी बङ्गाल सांस्कृतिक तथा पर्यटन महोत्सव चलिरहँदा सांस्कृतिक रंगले भरिएको थियो। स्थानीय महिलाहरूको उत्साह, परम्परागत पहिरन र मौलिक लयले वातावरणलाई जीवन्त बनाइरहेको थियो। मञ्चमा प्रस्तुत भएको संगिनी नृत्यले नेपाली संस्कृतिको गहिरो जरा र भावनात्मक सम्बन्धलाई उजागर गर्‍यो।

सदिउँदेखि नेपाली समाजमा प्रचलित संगिनी नृत्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो महिलाबीचको आत्मीयता, दुःख–सुख साटासाट र सामाजिक एकताको प्रतीक हो। पाथिभरा टोलका महिलाहरूले प्रस्तुत गरेको यो नृत्यले दर्शकलाई आफ्नै मौलिकतामा फर्कायो, जहाँ संस्कृति अझै जीवित छ र पुस्तादेखि पुस्तामा सर्दै गएको छ।

यसै मञ्चमा भारतको पश्चिम बङ्गालबाट आएकी कलाकार डा. पम्पि पलले प्रस्तुत गरेको “बसन्त नृत्य” ले प्रकृति, संस्कृति र समृद्धिबीचको सम्बन्धलाई सशक्त रूपमा चित्रण गर्‍यो। करिब दुई हजार वर्ष पुरानो मानिने यो नृत्यले ऋतु परिवर्तनसँगै आउने नयाँ आशा, पुनर्जागरण र जीवन्तताको सन्देश बोकेको थियो। नेपाली माटोमा बङ्गाली संस्कृतिको यस्तो प्रस्तुति आफैँमा सांस्कृतिक आदानप्रदानको सुन्दर उदाहरण बन्यो।

कार्यक्रममा लेप्चा नृत्य, सेलो नृत्य तथा बङ्गालका अन्य सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिए। हरेक प्रस्तुतिमा आ–आफ्नो समुदायको पहिचान, जीवनशैली र सांस्कृतिक गहिराइ झल्किएको थियो। फरक भाषा, फरक भेषभूषा भए पनि भावनाको एउटै डोरीले सबैलाई बाँधेको देखिन्थ्यो।

यस्ता सांस्कृतिक कार्यक्रमहरूले केवल मनोरञ्जन मात्र दिँदैनन्, दुई देशका जनताबीच आत्मीय सम्बन्ध गाँस्ने सेतु पनि बन्छन्। एउटै मञ्चमा उभिएर प्रस्तुत गरिएका यी कला र संस्कृतिले नेपाल र बङ्गालबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने संकेत दिएका छन्।

अन्ततः, बिर्तामोडको यो सांस्कृतिक साँझले एउटा सन्देश स्पष्ट गर्‍यो— कला र संस्कृति सीमाना मान्दैनन्। जब लय, भावना र परम्परा एकै ठाउँमा मिसिन्छन्, त्यहाँ केवल प्रस्तुति हुँदैन, त्यहाँ सम्बन्धहरू जोडिएका हुन्छन्।