बिर्तामोड । लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चालन गरिएको ‘स्वीप अपरेशन’ अन्तर्गत प्रहरीले लगातार कारवाहीलाई तीव्र बनाएको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइहरूले आज मिति २०८३ वैशाख १२ गते सञ्चालन गरेको अपरेशनमा १६ जनालाई नियन्त्रणमा लिएको छ। तीमध्ये ५ जनाबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर तथा नाइट्रोजेपाम ट्याब्लेट ३२ पिस बरामद गरिएको प्रहरीले जनाएको छ। लागुऔषध ओसारपसारमा प्रयोग गरिएका २ थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। बरामद लागुऔषधसहित पक्राउ परेका ५ जनामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान अघि बढाइएको छ।

यसअघि वैशाख ११ गते ६३ जनालाई नियन्त्रणमा लिँदा १६ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ११७ पिस र डिकोलिक ट्याब्लेट १०५ पिस बरामद गरिएको थियो। त्यस्तै, वैशाख १० गते ६२ जनालाई नियन्त्रणमा लिँदा २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र नगद ९ हजार रुपैयाँ बरामद भएको थियो।

प्रहरीका अनुसार पछिल्ला तीन दिनमा मात्रै कुल १४१ जना नियन्त्रणमा परेका छन् भने ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ। जिल्लामा लागुऔषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाइने प्रहरीले जनाएको छ।