बिर्तामोड । ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्ड कप अन्तर्गत फाइनल खेलअघि सहभागी सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबका प्रशिक्षक र कप्तानले उपाधि रक्षा गर्ने दावी गरेका छन् ।

IMG-20260426-WA0003

आज चन्द्रगढीमा आय‍ोजित प्रि म्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि हात पार्ने दावी गरेका हुन् । फाइनल खेल भोली (सोमबार) मेची रंगशालामा आयोजना हुँदै छ ।

एपीएफ क्लबका प्रशिक्षक जिवेस पाण्डेले आफ्नो टिम पुर्ण रुपमा फिट भएको बताए । उनले रेफ्रिको निर्णयहरू पूर्वाग्रही जस्तो लागे पनि पूर्ण रूपमा असहमत नभएको प्रतिक्रिया दिए।

त्यस्तै, एपीएफकै कप्तान अनिता बस्नेतले खेल अवधिभर रेफ्रीको निर्णय मान्नुपर्ने धारणा राख्दै आफूहरूलाई पूर्वाग्रही व्यवहार महसुस नभएको बताइन्।

त्रिभुवन आर्मी क्लबका प्रशिक्षक राजु तामाङले एपीएफसँग प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गर्दै अघिल्ला कमजोरी सुधारेर एपीएफको जितमा ब्रेक लगाउने दाबी गरे। उनले टोली शारीरिक तथा मानसिक रूपमा पूर्ण तयार रहेको बताए।

आर्मीकी कप्तान सुनिता चौधरीले मौसमले खेलमा कुनै असर नपार्ने बताउँदै आफूहरू पूर्ण फिट रहेको र सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरिन्।

प्रतियोगितामा विजेता टोलीले नगद ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। त्यसैगरी उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ।

फाइनल खेलका उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र डिफेन्डरलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।