बिर्तामोड । इलामको राकसे घोर्ले भिर क्षेत्रमा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

इलामको इलाम नगरपालिका–११ राकसे घोर्ले भिरस्थित केचना–कञ्चनजंघा भित्री सडकखण्डमा  इलामबाट झापातर्फ जाँदै गरेको मे१ख २२६७ नम्बरको ट्रक अनियन्त्रित भई करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गोलाखर्कबाट प्रहरी हवल्दार तारा बहादुर काफ्लेको कमाण्डमा प्रहरी टोली खटिएको थियो। थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक कुलदिप चन्दको कमाण्डमा ट्राफिकसहित १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी तथा स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक बिर्तामोड नगरपालिका निवासी अन्दाजी ५६ वर्षीय कमल आचार्य गम्भीर घाइते भएका छन्। उनको टाउको, आँखा, ढाड तथा खुट्टामा चोट लागेको छ। उद्धारपछि उनलाई उपचारका लागि झापास्थित बीएनसी अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ।

त्यसैगरी सहचालक इलाम देउमाई नगरपालिका–३ शान्तिडाँडा निवासी २३ वर्षीय लक्ष्मण राउत घाइते भएका छन्। उनको ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। जिल्ला अस्पताल इलाममा सामान्य उपचारपछि थप उपचारका लागि झापास्थित बीएनसी अस्पताल रिफर गरिएको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका छन्।

दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको छ भने ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।