बिर्तामोड । झापाको बिर्तामोडमा बिहानको चिया खोज्ने धेरैको पाइला एउटा पुरानो चिया पसलतर्फ मोडिन्छ। त्यहाँ चियाको कपसँगै संघर्ष, मेहनत र निरन्तरताको लामो कथा पनि पाइन्छ। त्यो कथाका मुख्य पात्र हुन् ६७ वर्षीय मोहनचन्द्र दास।

राजगढ गाविस–५ (हाल बाह्रदशी गाउँपालिका) मा कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका मोहनचन्द्रको जीवन हात्तीको आतंक र डाकाको त्रासले एकाएक मोडियो। आफ्नो व्यवसाय र गाउँ छाडेर उनी परिवारसहित बिर्तामोड आए। नयाँ ठाउँमा नयाँ सुरुवात गर्नुपर्ने बाध्यता थियो। त्यसपछि उनले चिया पसल खोले।

उनका तीन छोरी र एक छोरा छन्। परिवारको जीविकोपार्जनका लागि सुरु गरिएको चिया पसल नै आज उनको परिचय बनेको छ।

"म इञ्जिनसँग करिब २० वर्ष जोडिएको मान्छे। यति लामो समयसम्म चिया बेचेरै जीवन बिताउँछु भन्ने कहिल्यै सोचेको थिइनँ," उनी विगत सम्झिन्छन्। "तर यहाँ यति धेरै ग्राहकको माया पाएँ कि अब चिया पसल बाहेक अर्को काम सोच्नै सक्दिनँ।"

वि.सं. २०४९ साल साउन १ गते उनले बिर्तामोडमा चिया पसल सुरु गरेका थिए। त्यतिबेला एक कप चियाको मूल्य मात्र एक रुपैयाँ थियो। राजगढमा हुँदा भने उनी ५० पैसामा चिया पिउथे। समयसँगै मूल्य बढ्दै अहिले एक कप चियाको मूल्य २५ रुपैयाँ पुगेको छ।

बिर्तामोडको व्यापारिक चहलपहलसँगै उनको पसल पनि फस्टाउँदै गयो। २०७०–८० को दशकतिर दैनिक ७० लिटरसम्म दूध खपत हुने गरेको उनी सुनाउँछन्। अहिले सडक साँघुरो हुनु, पार्किङको समस्या र बजारको स्वरूप परिवर्तनसँगै दूधको खपत दैनिक ३० लिटर जतिमा सीमित भएको छ।

उनको चियाको स्वाद चाख्न झापाका विभिन्न स्थान मात्र होइन, इलाम, पाँचथर, विराटनगर, इटहरी हुँदै भारतको सिलिगुडीबाट समेत ग्राहक आउने गरेको उनी बताउँछन्।

सुरुआती दिनमा चियासँगै खाना पनि बिक्री गर्थे। अहिले भने चिया र नास्तामै केन्द्रित छन्।

यो व्यवसायमा उनका सबैभन्दा ठूलो सहयात्री हुन् श्रीमती तारादेवी दास। पसलमा उनीहरू दुई जना मात्रै खटिन्छन्। "म ग्राहकलाई चिया पुर्‍याउने काम गर्छु, श्रीमतीले चिया पकाउनुहुन्छ," मोहनचन्द्र मुस्कुराउँदै भन्छन्।

समय बदलियो, बजार बदलियो, चियाको मूल्य बदलियो। तर मोहनचन्द्र दासको मेहनत, ग्राहकप्रतिको आत्मीयता र चियाको स्वाद भने तीन दशकभन्दा बढी समयदेखि उस्तै छ। संघर्षबाट सुरु भएको उनको यात्रा आज बिर्तामोडको पहिचान बनेको एउटा चिया पसलमा रूपान्तरण भएको छ।