बिर्तामाेड । करिव दुई दर्जन महिलालाई प्रेमगरी प्रलोभनमा पारेर करोडौं ठगी गरेको आरोप लागेका झापाको अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका नेत्रप्रसाद गिरी (आयुश) ले भारतबाट सवारी साधन ल्याएर नेपालमा नक्कली कागजपत्र बनाउँदै बिक्री गर्ने गरेको खुलेको छ ।

गिरीले झापाको बिर्तामोडका एक जना ब्यवसायीसँगको मिलेमतोमा नक्कली कागजपत्र बनाउने गरेका हुन् । गिरीले भारतबाट गाडी नेपाल ल्याउने र नेपालमा रहेका उनका साझेदारले यातायात ब्यवस्था कार्यालय इटहरीका कर्मचारीसँगको मिलेमतोमा नक्कली ढड्डा तयार गर्ने गरेका छन् ।

ढड्डा नै नक्कली बनाएर गाडीका सबै कागजपत्र ९सक्कली जस्तै० बनाइएको हुन्छ । त्यही कागजपत्रका आधारमा उनले नेपालमा रहेका ग्राहकलाई बजारमुल्य भन्दा सस्तोमा गाडी बिक्री गर्दै आएका छन् । खासगरी कार वास सेन्टर र ग्यारेजमा गएका गाडीधनीलाई ‘आफु अप्ठ्यारोमा परेकाले सस्तैमा बिक्री गर्नु पर्ने’ भन्दै गिरीले फसाउने गरेको पाइएको छ । गिरीले बिक्री गरेका गाडीको अनलाइनमा समेत बिवरण देखाउने गरेको पाइएको छ ।

अनलाइनमा इन्ट्रि गर्ने प्राविधिकसहित यातायात ब्यवस्था कार्यालयका कर्मचारीसँग गिरीको सेटिङ रहने गरेको पाइएको छ । यातायात कार्यालयमा दलालीको काम गर्ने सुशील घिमिरेले गिरी र बिर्तामोडका ब्यवसायीको निर्देशनमा नक्कली कागजपत्र बनाउने गरेको पाइएको छ । उनीहरुको समुहले हजारौ गाडीको यस्तो कागजपत्र बनाएर बिक्री गरिसकेको समाचारस्रोतको दावी छ ।

गिरीले बिक्री गरेकोमध्ये महिन्द्रा कम्पनीको एउटा स्करपियो र एउटा ब्रेजा प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले बरामद समेत गरेको छ । गिरीको निर्देशनमा नक्कली कागजपत्र बनाउँदै भारतीय सवारी साधन नेपालमा बिक्री गर्ने गिरोहको पोल आंशिक रुपमा खुलेपछि उनीहरु यतिबेला मधेस प्रदेशका यातायात ब्यवस्था कार्यालयबाट त्यो काम गरिरहेको दावब स्रोतको छ । उनीहरुले महिन्द्रा, सुजुकी, टाटा, लगायतका कम्पनीका महङ्गो मुल्यका गाडीको मात्र कारोबार गर्ने गरेको पाइएको छ । गिरीले भारतीय गाडीको नक्कली कागजपत्र बनाएर बिक्री गर्ने मात्र होइन ।

धेरै महिलाबाट रकम ठगी गरेको समेत बाहिरिएको छ । काठमाण्डौको एक टेलिभिजनमा गिरीले ठगी गरेको गुनासो महिलाको समुहले गरेपछि यस्तो रहस्य बाहिरिएको हो । पीडित महिलाहरुका अनुसार गिरीले उनीहरुसँग बिवाह गर्ने प्रलोभन देखाएर रकम ठगी गर्ने गरेका थिए । १६ जना मलिामध्ये एक जनासँग ८० लाख रुपैयाँको जमिन र पैसा ठगी गरेको उनले बताएकी छन् । उनीहरुबाट गिरीले लाखौंका दरले रकम ठगी गरेको बताएका छन् । घरमा कान्छी श्रीमती रहेका गिरी आफु अविबाहित भएको भन्दै महिलालाई प्रेमजालमा पार्ने गरेका थिए ।

प्रेमजालमा पारेपछि रकम ठगी गरेर बेपत्ता हुने उनको बानी रहेको पाइएको छ । उनकी जेठी श्रीमतीतर्फ एउटी छोरी छन् भने कान्छी श्रीमती हाल अर्जुनधारास्थित घरमा छन् । उनीमाथि आफ्नै नातेदार भाइको श्रीमतीमाथि पनि अभद्र ब्यबहार गरेको मुद्दा अदालतमा बिचाराधिन छ ।