बिर्तामाेड । झापाका सामुदायिक बनबाट दिनदहाडै रुख काटेर ओसार–पसार तथा बिक्री वितरण हुने गरेको पाइएको छ ।
बुट्टाबारीको हरियाली सामुदायिक बनक्षेत्रबाट बिर्तामोडको स–मिलमा ल्याएर रुख काटेको अवस्थामा फेला परेको छ ।
डिभिजन बन कार्यालय झापाका कार्यबाहक प्रमुख जीवनकुमार पाठकका अनुसार गैरकानुनी रुपमा सामुदायिक बनको रुख काटेको अवस्थामा २०.२३ क्युविक फुट काठ बरामद भएको छ । बिर्तामोडको प्रदीप स–मिलमा चिरान गरिसकेको अवस्थामा सो परिणामको काठ बरामद भएको हो । बन पैदावर ब्यवसायी संघ झापाका कोषाध्यक्ष दीपक मेन्याङवोले सञ्चालन गरेको स–मिलमा गैरकानुनी रुपमा काठ चिरान हुने गरेको समेत पाइएको छ ।
सामुदायिक बनका पदाधिकारी र बन कार्यालयका कर्मचारीको संयुक्त टोलीले काठसहित प्रदेश न १–०१–००१ च ८५९७ नम्बरको पिक–अप र त्यसका चालक बिर्तामोड–७ का हिमाल लिम्बुलाई समेत नियन्त्रणमा लिएको प्रमुख पाठकले जानकारी दिए । काठ काट्ने सन्तबहादुर लिम्बु भने फरार रहेकाले उनको खोजी गरिरहेको समेत उनले बताए ।
जिउँदो रुख कटान गर्न प्रतिबन्ध छ । सामुदायिक बनहरुले पनि ढलापडा मात्र संकलन तथा कटान गर्दै आएका छन् । यस्तो अवस्थामा बिल बिनाको काठ चिरान गर्ने मेन्याङवोसहित प्रदीप स–मिललाई पनि कारवाहीको दायरामा ल्याउने पाठकले जानकारी दिए । तर, बन कार्यालयले स–मिल सञ्चालक मेन्याङवोलाई भने पक्राउ गरेको छैन ।














