प्रकाश उप्रेती
मेचीनगर । गोरु तस्करी गरेको आरोपमा सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहितको टोलीको कुटाइबाट चार जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।
टोलीले कुटपिट गर्दा झापाको नकलवन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राई घाइते भएका हुन् ।
गोरु तस्करीमा मिलेमतोमा सशस्त्र प्रहरी बल नम्बर-१ बराह वाहिनी डीआईजी अन्जनीकुमार पोखरेलकाे निर्देशनमा सादा पोसाकमा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राईसहितको टोलीले कुटपिट गरेका हुन् ।
गोरु तस्करीगर्दा सादा पोशाकका सशस्त्रले माग गरेबमोजिम ब्यापारीले नजराना नबुझाएपछि गोरु कटाउन नदिन डिआइजि पोख्रेलले आदेश गरेका थिए । नकलवन्दाको माता चोकमा ड्युटीमा रहेका सशस्त्रले गोरु छोडेपछि पासाङलाई मंगलबार राति ८ बजे गोरु किन छाडेको ? भन्दै सादा पोसाकका प्रहरी निरीक्षक राईले कुटपिट गरेका थिए ।
त्यसपछि पोस्टमा रहेका अन्य प्रहरीलाई पनि पोसाक लगाउन लगाएर मेची खोलामा चोबल्दै निर्घात कुटपिट गरेका थिए । सशस्त्र प्रहरीलाई कुटपिट गरेको थाहा पाएपछि कुटपिटमा संलग्न निरीक्षक राई, प्रहरी जवान राम सुन्दर तामाङ र जीवन बास्तोलालाई स्थानीयले सामान्य हातपात गरेका थिए । स्थानीयले सशस्त्रको गाडी तोडफोड पनि गरेका थिए ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले केही 'मिसअन्डरस्ट्यान्डिङ'का मंगलबार उक्त घटना भएको बताए । सादा पोषाकमा रहेका सशस्त्र प्रहरीलाई स्थानीयबासीले नचिनेका कारण पनि नकलबन्दा तनावग्रस्त बनेको उनले बताए । पोखरेलले भने, 'जे नहुनुपर्थ्यो त्यो भयो । अरु कुरा सशस्त्र प्रहरीको चेन अफ कमाण्डले हेर्छ ।'
बराह बाहिनी पकलीका प्रमुख प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले आफूले यो विषयलाई गम्भीर रुपमा लिएको र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरेलले भने, 'बदमासी भएको छ । बदमासी गर्नेले कारबाही भोग्छ ।'



















