पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ ।
यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो ।
हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको छ। बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरि खतिवडाले जानकारी दिए ।
प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम-ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ ।
असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडककाे पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो ।
यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मङ्गलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो ।