बिर्तामाेड । एक जना कैदीबन्दीलाई स्थानान्तरण गर्न लागेको विषयमा झापा कारागारका कैदीबन्दी आन्दोलित भएका छन् ।

कारागारका कैदीबन्दी मनोज लावतीलाई विभागको पत्र अनुसार झुम्का कारागार पठाउन लागिएको भन्दै कैदीहरुले ढुंगा प्रहार र आगो बालेर नाराबाजी गरेका थिए ।

स्थिति नियन्त्रण गर्न प्रहरी नायब उपरीक्षकको टोलीलाई समेत कारागार प्रवेश गर्न समस्या भएको थियो । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक आफै पुगेर गृह मन्त्रालयमा कुरा गरेर ती कैदीबन्दीलाई भित्र पसाइएको थियो ।

कैदीबन्दीहरुले कारागार प्रमुख मोहन पनेरुलाई हटाउन माग गर्दै नाराबाजी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो । कारागार भित्रको आगो नियन्त्रण गर्न दमकल प्रयोग गरिएको थियो ।

लावतीलाई भित्र पठाएपछि कारागारकाे आन्दाेलन साम्य भएकाे झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेलले जानकारी दिए ।