झापा । संखुवासभा जिल्ला कारागारमा गत मंगलबार राती दुई कैदीको मृत्यु प्रकरणमा एक असईसहित १० जना प्रहरी पक्राउ परेका छन् ।

कारागारको सुरक्षामा खटिएका असईसहित १० जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरुमा असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङ रहेका छन् ।

कारागारको झ्याल फोडेर भाग्न खोजेका कैदीलाई समातेपछि उनीहरुले कारागारभित्रै लाठ्ठी र मुक्काले हानेको देखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बलात्कार मुद्दामा थुनामा रहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र चोरी मुद्दामा थुनामा रहेका नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत मंगलबार निधन भएको थियो ।