बिर्तामाेड । सामाजिक सञ्जालको प्रयोग गर्दै विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले सुमित कुसवाहा, प्रकाश श्रीवास्तव, राहुल कुमार र रवीन्द्रप्रसाद कुर्मीलाई पक्राउ गरेको डिएसपी सुरज कार्कीले जानकारी दिए । पक्राउ परेकाहरु विरगञ्ज निवासी रहेको र उनीहरुले बिर्तामोडमा बसेर ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।
सामाजिक सञ्जाल वाट्सएप तपाइँलाई आइफोन, ल्यापटप, घडी उपहार प¥यो भन्दै उपहार प्राप्त गर्न भन्सार र करको पैसा जम्मा गर्न लगाउनेमध्येका चार जनालाई पक्राउ गरिएको डिएसपी कार्कीले बताए ।
पक्राउ पर्नेहरुले इभा सोफिया नाम भएको फेसबुकको म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई आफू स्वीडेनको एक तेल र ग्यास कम्पनीको म्यानेजर भएको र तपाईहरुलाई कम्पनीको तर्फबाट आईफोन, ल्यापटप, घडी जस्ता उपहार प¥यो भन्दै ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका चारै जनालाई ठगी मुद्दामा इलाका प्रहरी कार्यालय झापाले जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उता सामाजिक सञ्जालबाट ठगी गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीया कमलादेवी श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटक र वाट्सएपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई युकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्ट पठाएको भनी प्रलोभनमा पारी ग्राहक शुल्क बापतको रकम पठाउनुपर्छ भन्दै रु। ९२ हजार पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको सो कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ गरिएकी श्रेष्ठलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



















