बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका–८ का ३५ बर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न भएको अभियोगमा दुइजना मृतककै नातेदारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

साउन ३१ गते बेलुका अन्दाजी ८ बजे मादक पदार्थ सेवन गरेर बाटो हिडिरहेका सुन्दरलाललाई उनकै नातेदार पर्ने सुनरसी किसान र रामजी किसानले हत्या गरेको अनुसंधानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका अभियुक्त र मृतकबीचमा लामो समयदेखि पारिवारिक रिसइवी रहेको खुलेको प्रहरीले जनाएको छ । अभियुक्तहरुले सुन्दरलाललार्ई मार्ने नियतले बेलुकाको समयमा होली पैनीको कल्भर्टमा धारिलो हतियार(सिकल) र खन्तीसहित ढुकेर बसी एक्लै फेला पारेर विवाद गरी धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरेको देखिन आएको र थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

फलामको रडको खन्ती र सिकल प्रहार गरी शरीरको टाउको,घाटी,हात तथा अन्य बिभिन्न भागमा चोट पुर्याई हत्या गरे पश्चात लाशको व्यवस्थापन गर्ने क्रममा पक्राउ परेका अभियुक्तले मृतकलाई कल्भर्ट बाट दक्षिण तर्फ रहेको धानखेतमा घिसार्दै होली पैनीमा लगेर तल पुर्याई झाडीले छोपेको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाल रिजालले जानकारी दिए । घटनामा प्रयोग भएको धारिलो हतियार सिक्कललाई लाश रहेको स्थानदेखि दक्षिणतर्फ पैनीको झाडीमा फ्याकेको कुरा अभियुक्तले स्विकार गरेको समेत उनले बताए । 

सुन्दरलालको अत्यापछि उनीहरु भारततर्फ गएको र प्रहरीले परिवारसन्ग समन्वय गरी भारतबाट नेपाल ल्याउन सफल भएको जनाएको छ । उनीहरु नेपाल आएपछि प्रहरीले गरेको सोधपुछका क्रममा हत्या गरेको स्वीकार गरेको जनाइएको छ । 

घटनामा प्रयोग भएको खन्ती अभियुक्त सुनरसी किसानको भएको सुचना पाएको प्रहरीले उनलाई सोधपुछ गर्दा सो हतियार आफ्नो भएको बताएका थिए । सोही हतियारको सहायताले प्रहरीले अभियुक्त पहिचान गरेको जनाएको छ । प्रहरीले पक्राउ परेका अभियुक्तमाथि अदालतबाट म्याद थप गरी अनुसंधान गरिरहेको जनाएको छ । 

असार ३२ गते मर्निङवाक गर्ने स्थानीयले सडकमा रगतको टाटा देखेर प्रहरीलाई खबर गरेका थिए । मुनियाँटोलबाट सुन्दरलाल किसान हराएको र सडकमा रगतको टाटा देखिएको सुचना पाएको प्रह्रीले तत्काल घटनास्थलमा आएको अनुसंधान शुरु गरेको थियो । अनुसंधान शुरु गरेको २४ घण्टामै प्रहरीले अभियुक्त पक्राउ गर्न सफल भएको जनाएको छ ।