बिर्तामोड । झापा गाउँपालिका–१ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

मोटरसाइकलको एयर फिल्टरमा लुकाएर ल्याउँदै गर्दा ४४ ग्राम २८० मिलिग्राम ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

पक्राउ पर्नेहरु मोरङ र झापा जिल्लाका छन् । मोरङको बेलबारी नगरपालिका–१० का सुरेश धिमाल, गौरादह नगरपालिका–४ का सन्देश लिम्बु र उर्लाबारी नगरपालिका–७ का बिनोद लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका धिमालको साथबाट प्र‍‍-१-०२-०४७ प-७०४२ नम्बरको केटीएम डुक मोटरसाईकल, मोवाइल र १ हजार ७२५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

गौरादहका लिम्बुको साथबाट को २१ प १०४० नम्बरको मोटरसाइकल, मोवाइल र १६० रुपैयाँ नगद तथा उर्लाबारीका बिनोदको साथबाट एउटा मोवाइल र नगद ५० हजार रुपैंयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।