बिर्तामाेड । झुटा विवरण पेस गरी नेपाली नागरिकता बनाई दिएको मुद्दाका फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ नम्बर वडा कार्यालयका तत्कालीन वडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशी  छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गतेको फैसला कार्यान्वयनका लागि राजवंशीलाई पक्राउ गरिएकाे हाे । 

तत्कालीन वडा अध्यक्ष राजवंशीलाई झुटा विवरण पेस गरी नागरिकता बनाई दिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको फैसला भएकाे थियाे । अदालतको फैसला आएदेखि फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार चलान गरिसकेको डीएसपी रिजालले बताए । घटना विवरण अनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट विसं २०७३ देखि २०७६ सम्ममा १६ जना गैरनेपालीलाई नागरिकताकाे सिफारिस दिइएको थियो । आर्थिक प्रलोभनमा राजवंशीसहित प्रशासन कार्यालय कर्मचारीदेखि अन्य जनप्रतिनिधिहरू समेत घटनामा मुछिएका थिए ।

गैर नेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको थियो । नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नागरिकता दिएका थिए । टेकबहादुर र रिनालाई बुबाआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ रहेका थिए । उनीहरू सबैको ठेगाना झापा कायम गरिएको थियो । 

गैरकानूनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत थिए ।  प्रशासन कार्यालय झापाले गैरकानूनी रूपमा २०७६ जेठ १२ मा  तीनलाई, जेठ २० मा  एकलाई र  जेठ २१  तीन जनालाई नागरिकता वितरण गरेको थियो । यसैगरी,  २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको थियो ।