बिर्तामाेड । भारतीय नागरिकले झापामा ठुलाे परिणाममा लागूऔषधकाे काराेबार गर्ने गरेकाे पाइएकाे छ ।
भद्रपुर नगरपालिकाबाट हालसम्मकै ठुलाे परिणाममा लागूऔषध बरामद भएपछि भारतीयहरु नेपाललाई लागूऔषध काराेबारकाे हब बनाउन सक्रिय रहेकाे पाइएकाे हाे ।
यसअघि पनि भारतका लागूऔषध काराेबारी नेपालमा पक्राउ पर्ने गरेका थिए । तर, याे पटक १९७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि प्रहरी पनि सचेत भएकाे छ ।
भद्रपुर नगरपालिका वडा नं.८ स्थित एयरपोर्ट अगाडी लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापाको इन्टेलिजेन्स टोली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला नक्सलबारी थाना बस्ने २८ वर्षिया कल्याणी बर्मन र सोही ठाउँ बस्ने २८ वर्षिया राधा सिंहलाई शंका लागेर चेकजाँच गर्दा दुवै जनाको साथबाट १९७ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
दुवैलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सो ब्राउनसुगर भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला नक्सलबारी थाना बस्ने २४ वर्षिय कल्याण बर्मनको भएको र उनी काँकरभिट्टामा बसेको भनी खुलाएपछि उक्त स्थानमा प्रहरी टोली खटिएर बर्मनलाई समेत नियन्त्रणमा लिएको थियो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।



















