झापा । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको वन फँडानीको विरोध गर्दै आह्वान गरिएको बन्दले मेची राजमार्गको जनजीवन प्रभावित बनेको छ ।

बन्दले इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको हो ।  यो क्षेत्रमा केबुलकार बनाउन जंगल फँडानी गरिएको विषयलाई लिएर विभिन्न संस्थाले आज (बुधबार) र भोलि (बिहीबार)का लागि मेची राजमार्गसहित तमोर करिडोर र ताप्लेजुङमा यातायात बन्द आह्वान गरेका हुन् ।

बन्दकाे प्रभाव मेची राजमार्गमा बिहानैदेखि देखिएको छ । बन्दका कारण राजमार्गमा लामो तथा छोटो दूरीका सवारी साधन ज्यादै पातलो देखिएका छन् ।

वन फँडानी गरिएको क्षेत्र याक्थुङ लिम्बूसहित आम मानिसको ‘आस्थाको केन्द्र’ भएकाले जबर्जस्त रूपमा रुख फँडानी नगर्न बन्दकर्ताले आह्वान गरेका हुन् ।