अर्जुनधारा । झापाको अर्जुनधारा–१ को हचुमासा सामुदायिक बन उपभोक्ता समुहले जङगलबाट रुख काटेर चिरान गरेको भन्दै छानबिनका लागि उजुरी परेको छ ।

WhatsApp Image 2024-06-09 at 20.28.41 (1)

गत शनिबार सामुदायिक बनका कर्मचारीले लगभग ७० क्यु फिट साल जातको गोलिया काठ प्रक्रिया नपुर्याई जङगलबाट काटेर सामुदायिक बनमा रहेको स–मिलमा ल्याएर चिरान गरेको आरोप लागेको छ । सामुदायिक बनले प्रक्रिया नपुर्याई काठ कटान गरेको आरोप लगाउँदै नेकपा एमाले अर्जुनधारा–१ ले छानबिनको माग गर्दै उजुरी दर्ता गरेको जनाएको छ । 

‘जङगलको ठाडो रुख काटेर चिरान गरेको भेटियो, एकजना स्थानीय अम्बर राईले भने, त्यसरी अनियमित ढङगले चिरान गरेको भेटिएपछि हामीले छानबिनको माग गरेर उजुरी दर्ता गरेका हौं ।’ अबैधानिक रुपले कटान गरेको भन्दै हल्ला भएपछि बेलुका साँझ बनका कर्मचारी बोलाएर बरामद मुचुल्का बनाएको आरोप उनले लगाए । 

सामुदायिक बनले भने सामान्य काठ बरामद गरेपछि प्रक्रियागत त्रुटी भएको जनाएको छ । बन समुहका अध्यक्ष चन्द्र प्रसाईँले तस्करको समुहबाट बरामद गरेर घाटगद्धीमा ल्याएको काठ प्राविधिक कर्मचारीले गल्तीले चिरेको बताए । ‘७ वटा गोलिया रहेछ, अध्यक्ष प्रसाईँले भने–‘एउटा गोलिया चिरान गरिसकेपछि थाहा पायौं, अनि तत्कालै रोक्यौं ।’ उनले काठ चिरानमा संलग्न कर्मचारी भारतीय मुलका भएको हुनाले उनीहरुले बरामद गरेर ल्याएको गोलिया नचिनेर चिरेको बताए । 

चिरेको काठ पनि अहिले समुहकै घाटगद्धीमा रहेको बताउँदै प्रसाईले काम गर्दा कमजोरी भएको भएपनि नियत राखेर काठ नकाटिएको बताए । उनले यस बिषयमा उजुरी परेको स्वीकार गर्दै मंगलबार बन समुहको कार्यालयमा सर्बपक्षीय छलफल आयोजना गरिएको जानकारी दिए । 

बन समुहले कुनै पनि ठाडो रुख काट्न पाउँदैन । ढलापडा रुख संकलन गरेर बिक्री गर्दै आएका बन समुहले संकलन, ढुवानी र बिक्री गर्दा सम्बन्धित डिभिजन बन कार्यालयको अनुमति लिनु पर्दछ । डिभिजन बन कार्यालयले स्थलगत मुचुल्का तयार पारेपछि मात्र उपभोक्तालाई वितरण गर्न र बाह्य बिक्रीको अनुमति पाउने हुनाले यसरी कुनै कागजपत्र बिना गोलिया चिरान गर्न थालेपछि केही उपभोक्ताले आपत्ति जनाएका हुन् । 

केही साल अघि यसरी नै सामु्दायिक बनले काँचा रुख काटेकाे भनेर साे समुहका उपभाेक्ता आन्दाेलित भएका थिए । जसले गर्दा महिनाैसम्म बन कार्यालय बन्द भएकाे थियाे ।