बिर्तामोड । झापा बाह्रदशीको भित्री सडकखण्डमा एक साताअघि तीनचक्के अटोको ठक्करबाट घाइते भएका एकजना बालकको मृत्यु भएको छ ।

बाह्रदशी ६ पाख्रिबास धमलागाउँस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको अटोले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए ।

मे १ ह ६२०२ नम्बरको अटोले जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजे धनकुटा घर भई हाल बाह्रदशी ६ का टेकबहादुर भट्टराईको घरमा बस्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्ज्वल कार्कीलाई ठक्कर दिएको थियो । प्रज्ज्वल नाताले मामा पर्ने भट्टराईको घरमा बस्दै आएका थिए ।

 टाउको र शरीरको विभिन्न भागमा चोट लागेर तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएकोमा बोल्न नसक्ने गम्भीर घाइते बालकलाई थप उपचारको लागि विराट मेडिकल अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको थियो ।

कार्कीको आज बिहान ४ः५३ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अटो र अटो चालक कनकाई ८ बस्ने ३५ वर्षीय कुमार तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।