बिर्तामाेड । दक्षिणपूर्वी यूरोपेली मुलुक सर्बियामा झापाका दुईसहित ११ नेपाली बन्धक बनाइएका छन् ।
हतियारधारी समूहले फिराैती मागेर बन्धक बनाएको भन्दै छुटाउने पहल गर्न उनीहरुले आग्रह गरेका छन् । मानव तस्करको चंगुलमा परेर सर्बिया हुँदै इजिप्ट जाने झापा विर्तामोड-२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशीसहित ११ जना बन्धक बनेका हुन् । राजवंशीद्वयबाहेक अरूकाे परिचय खुलेको छैन ।
दुई महिनाअघि साढे ६ लाख खर्चिएर उनीहरू सर्बिया पुगेका थिए । उनीहरुले अहिले बन्धक बनाएर ज्यान मार्ने धम्की दिइएको भन्दै टेलिफोन गरेको पीडितकी आफन्तसमेत रहेकी बिर्तामाेड नगरपालिकाका कार्यपालिका सदस्य शर्मिला राजवंशीले बताइन् ।
शुक्रबार बिहान विदेशी नम्बरबाट फोन आएको थियो । फोनबाट आफन्तहरुलाई जनही ३ लाख पठाइदिन अनुरोध गरेका थिए । राजवंशीले भनिन्,'पैसा नदिए मार्ने धम्की दिएका छन् ।'
११ जनालाई सर्बियाको जंगलमा हातखुट्टा बाँधेर बन्धक बनाइएको खबर आएको राजवंशीले बताइन् । रकम पठाउन एकाउन्ट नम्बर पनि पठाइएको छ । आफन्त समस्यामा परेको कुरा राजवंशीले इलाका प्रहरी कार्यालय, बिर्तामोड, जिल्ला प्रशासन कार्याल झापा र सामी परियोजनामा जानकारी गराएको बताइन् ।
'जसरी हुन्छ पैसा पठाउनु नत्र हामीलाई मार्छन्', नातेदार २५ वर्षका पशुपति राजवंशीको बिलौना सुनाउँदै उनले भनिन्, 'यो खबरपछि हामी चिन्तामा छौं ।'
राजवंशी परिवारले पैसा पठाउन खोज्दा एकाउन्ट नम्बर भने मिलेन । इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी प्रकाश चन्दले नेपाली बन्धक भएको खबर परिवारमार्फत आएको र बन्धक भएकै भए उद्धारका लागि सम्बद्ध निकायसँग समन्वय गरिएको बताए ।
राजवंशीद्वय गत वैशाखमा मेचीनगरकी सपना राजवंशीमार्फत काठमाडौंका विज्ञान खरेलको सम्पर्कमा पुगेको र खरेलले नै उनीहरुलाई विदेश पठाएको पारिवारिक स्रोतले जनाएको छ । 'रुँदै फोन गरिरहेका छन्, चाँडो उद्धार नगरे मार्ने भनिरहेका छन्, जसरी पनि हाम्रा मान्छेलाई उद्धार गर्दिनुहोला,' पीडित परिवारको आग्रह छ ।


















