बिर्तामाेड । बिर्तामाेडमा शाखा कार्यालय रहेकाे आइएमई लाईफ इन्स्योरेन्सले बीमा गरेर रकम हिनामिना गर्न खाेजेकाे भन्दै बिमितले आपत्ती जनाएका छन् ।
बिर्तामोड–१० का पदमबहादुर चौहनले एनएमसी सहकारी संस्था बिर्तामोडमा ३० लाख रुपैयाँको ऋण निकाल्न संस्थाका तत्कालीन शाखा प्रबन्धक सम्भु राई मार्फत २० बर्षे जीवन बीमा गरेका थिए ।
उनले आज बीमावापत जम्मा गरेको तीन लाख ३१ हजार रुपैयाँ फिर्ता माग्दा एक लाख ६१ हजार ४६२ रुपैयाँ मात्र निकाल्न मिल्ने आइएमई लाईफ इन्स्योरेन्सले भनेपछि उनले आपत्ती जनाएका हुन् ।
उनले बिमाबापत करिव ४ किस्ता बिमा तिरेपछी आर्थिक कठिनाइका कारण बिमा तिर्न नसक्ने अवस्था भएपछि बिमा बराबरको रकम फिर्ता मागेका थिए ।
एक लाख ६१ हजार ४६२ रुपैयाँ मात्र निकाल्ने मिल्ने आइएमई बिर्तामोडले बताएपछि पदमबहादुरसहित सहित करिब २०/२५ जनाको समुहले इन्स्योरेन्स कम्पनीमा बिरोध गरेका थिए । बिरोधपछि आइएमई बिर्तामोड शाखा र पीडित बिच छलफल भएको थियो ।
छलफलमा इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख मिलन दाहाल र बिर्तामोड शाखा प्रबन्धक महेन्द्र तिम्सिनाले रकम फिर्ता बारे कम्पनीको प्रधान कार्यालयमा प्रस्ताव राख्ने, जतिसक्दो कम सेवा शुल्क लिएर रकम फिर्ता गर्न पहल गर्ने र श्रावण २ गते सम्म पहलको लागि समय दिने सहमति भएको बताइएको छ ।