पाँचथर । पाँचथरको फालेलुङ-५ मा बम बिस्फोटमा परेका अर्का बालकको पनि मृत्यु भएको छ । 

घटनामा गम्भीर घाइते भएका सोही स्थानका दिलिप साँवाका ११ बर्षका छोरा दिप्सन साँवाको गएराती १२ बजे मृत्यु भएको हो । उनलाई बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

IMG-20240830-WA0000

घटनास्थलमा भेटिएको होम मेड ग्रिनेड

यसअघि हिजो २ बर्षिय बालिका प्रिन्सा साँवाको मृत्यु भएको थियो । उनलाई पाँचथर जिल्ला अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि बिर्तामोड लाँदै गर्दा इलाममा मृत्यु भएको थियो । 

हिजो दिउँसो अन्दाजी ३ बजे फालेलुङ-५ का आइतराज केरुङको घरको आगनमा चारजना बालबालिका खेलिरहेको समयमा बम बिस्फोट भएको थियो । केरुङको घरमा ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो । घटनामा दिप्सन साँवा, प्रिन्सा साँवा, पवन राई र दिपसन राई घाइते भएका थिए । घटनामा परेका पवन र दिपसनको अवस्था सामान्य छ । 

आज बिहान फिदिमको रणशेर गण ओदिन ब्यारेकबाट सहायक सेनानी असिम काफ्लेको  कमाण्डमा बम डिस्पोजल टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ । 

घटनामा ‘होममेड ग्रिनेट’ विस्फोट भएको पाइएको छ । यद्यपी सुरक्षा निकायले यसलाई पुष्टी गर्न बाँकी छ । नेपाली सेनाको टोली पुगे पछि मात्र पुष्टी हुनेछ ।

शुक्रबार बिहान मात्र नेपाली सेनाको टोली घटनास्थल पुग्ने बताइएको छ । बिहिबार दिउसो विस्फोट भएको केरुङकाे  घरमा अर्काे विस्फोटक  पदार्थ ‘होममेड ग्रिनेट’ फेला परेको त्यहा परिचालित सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।