बिर्तामोड । लामो समयदेखि भूमिहिनहरु बसिरहेको जमिनमा धनीपुर्जा लिएर अर्के व्यक्ति आएपछि बिर्तामोड नगरपालिका–३ बरेलाबारीका सुकुम्बासी त्रासमा छन् ।
चिहानघारी फाडेर बसेको जमिनमा जमिनका मालिक भन्दै धनीपुर्जा लिएर नचिनेको मान्छे आएपछि उनीहरु घरबास उठ्ने भयका कारण त्रासमा परेका हुन् ।
दमक १० की सरस्वती ढकाल र घनेन्द्रदेवी थापाले बिर्तामोड–३ स्थित अधुवा खोला किनारको चिहानघारी सफा गरेर सुकुम्बासीहरु बसेको ८ कठ्ठा जग्गा आफ्नो नाममा पारेका हुन् । उनीहरुले बन शुद्धिकरण आयोगबाट धनीपूर्जा लिएको बताइएको छ ।
बिर्तामोड ३ स्थित सैनिकमोडदेखि पश्चिम अधुवा खोलाको पुलदेखि २ सय मिटर दक्षिण खोला किनारको सुकुम्बासी बसेको जग्गा उनीहरुले आफ्नो नाममा पारेको बताइएको छ । जग्गा आफ्नो नाममा पारेर हालसाविकका लागि आएपछि मात्र घटना सार्वजनिक भएको हो । गतबर्ष असोज १६ गते शनिबार हालसाविकका लागि नापी कार्यालयबाट अमिन खटिएको थियो ।
सो जग्गामा १० घर सुकुम्बासीले घर टहरा बनाएर बसेका छन् । सुकुम्वासी बस्ती रहेको खोलाको किनारको जग्गा आफ्नो नाममा दर्ता रहेको बताएपछि सुकुम्बासीहरु आक्रोशित बनेका छन् । उनीहरुले जमिन नाप जाँच गर्न नदिने चेतावनी दिएका छन् ।
यसैबीच नेपाली कांग्रेस बिर्तामोड–३ ले बिज्ञप्ती प्रकाशन गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ४५ बर्षदेखि सुकुम्बासीले भोगचलन गरेको जमिनमा भुमाफियाले बदनियत राखेर हडप्न खोजेकोप्रति ध्यानाकर्षण भएको बिज्ञप्तीमा जनाइएको छ । पार्टीले सो जमिन भुमिहिनहरुको नै हुनुपर्नेमा जोड दिंदै फेरी भुमिहिन बनाउने षड्यन्त्रप्रति सचेत रहन अनुरोध गरिएको छ ।