भद्रपुर । झापा कारागार चन्द्रगढीमा कैद सजाय भुक्तान गरिरहेका एकजना कैदी फरार भएका छन् । जबरजस्ती करणी मुद्दाका कैदीबन्दी जीवन साह उपचारका क्रममा अस्पतालबाट फरार भएका हुन् ।
भद्रपुरकै १६ बर्षिया किशाेरीलाई स्थानीय माैषम हाेटलमा लगेर जबरजस्ती करणी गरेकाे अभियाेगमा साउन १३ गते साह पक्राउ परेका थिए ।
२४ वर्षीय साहकाे स्वास्थ्यमा समस्या उत्पन्न भएपछि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा लगिएकाे थियाे । उपचारका क्रममा उनी अस्पतालबाट फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिकोमा शौचालयबाटै उनी फरार भएका हुन् ।
छातीमा समस्या भएपछि भद्रपुर ५ घर भएका साहलाई भदौ २५ गते बिहान प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
साह तीनजना प्रहरी कर्मचारीलाई छलेर फरार भएकाे बुझिएकाे छ । उनकाे सुरक्षाका लागि प्रहरी सहायक हवल्दार धनेश्वर यादब, प्रहरी जवानद्धय दिपेन मण्डल र साम कुमार राई खटिएका थिए ।
यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काई फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए



















