तेह्रथुम । सामाजिक सञ्जालबाट चिनजान भएर महिला साथी भेट्न आएका सिन्धुपाल्चोकका एक व्यक्तिको तेह्रथुममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार सिन्धुपाल्चोकको ईन्द्रावती-५ बाँडेगाउँको नमोबुद्व आधारभुत बिद्यालयका प्रधानाध्यापक अच्युतम कोइरालाको तेह्रथुममा मृत्यु भएको हो ।
सामाजिक सञ्जालबाट चिनजान भएकी तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेकी भिमादेबी रिमालको घरमा भेटघाटको लागि आएका उनी खाना खाने बित्तिकै बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याउदै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।
घटना अनुसार असोज २९ गते उनी सामाजिक सञ्जालमा चिनजान भएकी रिमाललाई भेट्न तेह्रथुम आएका थिए । ३० गते रिमालको घर जलजले आईपुगेका उनी खाजा खाएर रिमालसँग घुम्न निस्किएका थिए । केही समय घुमेपछि रिमालको घरमा आएर खाना खाने बित्तिकै उनी लडेका थिए । उनलाई तत्काल उपचार गर्नका लागि अस्पताल लगिएको भएपनि बाटैमा कोइरालाको निधन भएको थियो । प्रहरीले रिमाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।



















