बिर्तामोड । साउदी
अरबमा ड्युटी बस्ने क्रममा लडेर गम्भीर घाइते भएका बिर्तामोडका चन्द्रप्रसाद
चापागाईंलाई अन्तराष्ट्रिय झापाली समाजले उद्दार गरेर परिवारको जिम्मा लगाएको छ ।
एक बर्षअघि साउदी
अरबको दमाम शहरमा रोजगारीका लागि गएका चापागाईँ गत जेठ ३ गते ड्युटी जानका लागि
लाइनमा लाग्ने क्रममा एक्कासी लडेका थिए । लडेर बेहोस भएका बिर्तामोड-५ का ३६ बर्षिय चापागाईँलाई स्थानीय दमाम कम्प्लेक्स हस्पिटलमा
भर्ना गरिएको थियो ।
दमाम कम्प्लेक्स
हस्पिटलको भेन्टिलेटरमा २ महिनासम्म उपचार गरेर उनलाई सोही स्थानको नारिया जेनेरल
हस्पिटलमा उपचार गरिएको थियो ।
सो हस्पिटलमा झण्डै साढे ३ महिनाको उपचारपछि चापागाईँको होस आएको थियो । ५ महिनाजति बेहोस रहेका चापागाईँको होस खुलेपछि अन्तराष्ट्रिय झापाली समाज साउदी अरबको सहयोगमा नेपाल ल्याइएको छ । उनलाई नेपाल ल्याउनका लागि समाजका सदस्यसमेत रहेका बिर्तामोडका सन्तोष पाठक, हेमचन्द्र थापा लगायतले सहयोग गरेका हुन् । पाठक समस्यामा परेका नेपालीलाई सहयाेग गर्न सधै अग्रसर हुँदै आएका छन् ।
बिर्तामोड-५ मा रहेको डेरामा सोमबार साँझ ल्याइएका चापागाँईँ अहिले पनि
अर्धचेत अवस्थामा ओछ्यानमा छन् । उनको पत्नी शान्तिले रेखदेख गरिरहेकी छन् । दुई
नावालक छोरा र छोरीका अभिभावक चापागाई आफै बिरामी परेपछि परिवारको बिचल्ली भएको छ
।
'हामीले उहाँलाई धेरै अगाडि नै नेपाल ल्याउन खोजेका थियाै, उताको उपचार प्रभावकारी र खर्च बीमाबाट हुने व्यवस्था थियो- चापागाईँलाई नेपाल ल्याउन पहल गरेका पाठकले भने-'बेहोस अवस्थामा नेपाल ल्याउँदा आर्थिक अभावमा परिवारले उपचार गर्न नसक्ने भएका कारण स्वास्थ्य अलि राम्रो भएपछि ल्याएका हाै, त्यसको लागि झण्डै ६ महिना लाग्यो ।' उनले राजदुताबासका कर्मचारी नारायण पासवानले पनि उल्लेख्य सहयोग गरेको बताए । साउदीबाट कम्पनीले काठमाण्डाैसम्म ल्याउन मदत गरेकाे पाठकले बताए ।
चापागाईँकाे अवस्था अहिले पनि जटिल छ । उनकाे थप उपचारका लागि परिवारसँग रकम नै भएकाे श्रीमती शान्तिले बताइन् । उपचारका क्रममा घाँटीमा पारिएकाे प्वालका कारण अहिले खानेकुरा खाँदा त्याे प्वालबाट बाहिर निस्किने गरेकाे छ । उपचार खर्चकाे जाेहाे भए उनकाे फेरी एक पटक अपरेसन गरेर त्याे प्वाल टाल्न सकिने चिकित्सकले बताएकाे जानकारी उनले दिएकी छन् ।