बिर्तामोड । झापा गाउँपालिका-६ मा एक वृद्धाको हत्या भएको छ । हत्या गरेर गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेको अबस्थामा बृद्वाको शव फेला परेको हो । 

झापा गाउँपालिका-६ की ८१ वर्षीया फूलमणि सोरेनको शव हिजो साँझ फेला परेको हो । घरका अरु सबै सदस्य मकै रोप्न गएका बेला फूलमणिको हत्या भएको हो ।

काम सकेर घर फर्किदा वृद्धा फूलमणिलाई नदेखेपछि खोजी गर्नेक्रममा डुँडमा परालले छोपेर राखेको अबस्थामा उनको शव फेला परेको थियो । मृतकका ज्वाइँले डुँडको पराल हटाउन खोज्दा बृद्धाको शव देखेको प्रहरीले जनाएको छ ।

मुढामा बसेर तोरीको साग केलाउँदै गर्दा ती वृद्धालाई फरुवाले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । फरुवा घटनास्थलमा फेला परेको छ । घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।