अर्जुनधारा । झापाको अर्जुनधारास्थित शनिश्चरे बजार धुलोमुक्त हुने भएको छ । नगरपालिकाले ‘बजार सौन्दर्यकरण कार्यक्रम’ अन्तर्गत यस बर्षदेखि बजारलाई ईतिहासमै पहिलो पटक धुलोमुक्त बनाउन लागिएकाे हो । 

20250213_103859

अहिले बजारको पुर्वी भागमा पेवर्स लगाउने कार्य भइरहेको छ । जयपुरतर्फ जाने सडकको दायाँ बायाँ पेवर्स बिछ्याइसकेपछि धुलो मुक्त बजार निर्माण हुने छ । नगरपालिकाको २५ लाख र उपभोक्ता समितिको २ लाख ५० हजार रुपैंयाँको बजेटमा पेवर्स बिछ्याउने काम भईरहेको नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । 

गोम्देनले शनिश्चरे बजारलाई किनमेलको मात्र नभएर पर्यटकीय गन्तब्यका रुपमा बिकास गरिने जानकारी दिए । हरिकुमार राना मेयर भएको समयमा गोरु गाडा र श्री कृष्णले रथ चलाएको प्रतिक निर्माण भएको थियो । त्यो प्रतिकलाई पनि संरक्षण तथा आकर्षक रुप दिने योजना रहेको गोेम्देनले बताए । 

शनिश्चरे बजारमा मालबाहक ठुला सवारी साधनलाई बैकल्पिक सडकबाट बाइपास गराउने तयारी भइरहेको गोम्देनको भनाई छ । त्यसपछि यहाँ आदिवासी, जनजाती लगायतका मौलिक खानपान तथा भेषभुषाको प्रवर्दन गर्ने खालका कार्यक्रम ल्याउने उनले बताए । 

आगामी जेठ ३० गतेसम्ममा यो याजना पुरा हुने उपभोक्ता समितिका अध्यक्ष दिपक ढकालले बताए । उनले धुलोका कारण लामो समयदेखि पीडामा रहेका बजारबासी र यहाँ किनमेल गर्न आउने ग्राहकले अब त्यो समस्याबाट मुक्ति पाउने धारणा राखे । 

नगरपालिकाको पश्चिमतर्फ भने गतबर्ष नै पेवर्स बिछ्याइसकिएको छ । बजारको मध्यभागमा गतबर्ष नै सडक स्तरोन्नतीसमेत भइसकेको छ । नगरपालिकाको स्वामित्वमा रहेकाे यहाँकाे जमिनका अस्थायी टहरा हटाएपछि बजार सौन्दर्यकरणको बाटो खुलेको थियो । त्यसका लागि स्थानीय तहको पहिलो निर्वाचनमा बिजयी जनप्रतिनिधिले अग्रसरता लिएका थिए । 

२०७० सालमा शनिश्चरे बजार ब्यवस्थापन समितिका अध्यक्ष कुमार भट्टराई थिए ।  उनले सो समयमा धुलो मुक्त बजार निर्माण गर्ने योजना अघि सारेका थिए । योजना अनुसार बजारको मध्य भागमा रहेको जेष्ठ चौतारीको केही भाग ढलानसमेत गरिएको थियो । सो योजना पूर्ण हुन लागेकोमा उनले खुशी व्यक्त गरेका छन् ।