अर्जुनधारा । झापाको ऐतिहासिक बजार शनिश्चरेलाई व्यवस्थित बनाइने भएको छ । शनिश्चरे बजारमा बर्षाैंदेखि लाग्दै आएको खसी बजार, ठेकी बजार, तरकारी बजार, बधशाला, पार्किङको समस्या समाधान गरेर बजारलाई व्यवस्थित गर्न लागिएको हो । 
अर्जुनधारा नगरपालिकाको सक्रियतामा बजार व्यवस्थित गर्न लागिएको मेयर बलदेबसिंह गोम्देनले जानकारी दिए । बजारलाई आकर्षक र व्यवस्थित बनाउन नगरपालिकाले सटर बाहिर सामान राखेर बिक्री गर्ने निषेध गर्ने जनाएको छ ।
‘पुर्वको प्रशिद्ध धार्मिकस्थल अर्जुनधारा दर्शनका लागि बाहिरबाट आउने पर्यटकले सडकमै खुल्ला बधशाला बनाएर मासु बिक्री गरेको देख्नुपर्छ, धाम प्रवेश गर्ने स्थानमै त्यस्तो दृष्य देख्दा उहाँहरुमा नकारात्मक सन्देश सञ्चार हुन्छ । अब बधशाला व्यवस्थित गरेर शनिश्चरेमा देखिने त्यस्ता दृष्य अन्त्य गर्नुपर्छ । मेयर गोम्देनले भने–‘झापाकै सबैभन्दा व्यवस्थित बजार निर्माण गर्न हामीले अग्रसरता लिनुपर्छ ।’
शनिश्चरेको पुरानो सुर्तिहट्टी उत्तरपटी सडक नै ढाकेर तरकारी बजार लाग्दै आएको छ । जसका कारण बिपदका समयमा एम्बुलेन्स तथा दमकलसमेत आवागमन हुन सक्दैन । त्यहाँको अव्यवस्थित तरकारी बजारलाई पनि स्थानान्तरण गरेर सञ्चालन गरिने उनले जानकारी दिए । त्यसका लागि नगरपालिकाले सोही स्थानमा संरचना निर्माण गरेको जानकारी दिंदै गोम्देनले नयाँ बजारमा पसल राख्नेलाई एक बर्षसम्मको भाडा मिनाहा गर्ने, किनमेल गर्न आउने ग्राहकको सुविधाका लागि चोकदेखि बजारसम्म आवागमनका लागि सवारी साधनको सुविधा उपलब्ध गराउने तयारी भईरहेको बताए । 
तरकारी बजारको स्थानान्तरणसँगै बित्तीय संस्थाहरुलाई सोही स्थानमा सेवा सुरु गर्ने वाताबरण बनाउने योजना नगरपालिकाको रहेको छ । बित्तीय संस्था र बजार एकै स्थानमा नहुँदा कारोबारमा कठिनाई हुने हुँदा नयाँ बजारमा बित्तीय सेवा उपलब्ध गराउन भूमिका खेल्न सरोकारवालालाई अनुरोध गर्ने उनले बताए । 
बजारको मध्यभागमा यतिबेला सौन्दर्यकरणको काम भइरहेको छ । त्यसका कारण पार्किङको समस्या खडा हुने भएको छ । नगरपालिकाले पार्किङको व्यवस्थापन गरेर अटो तथा ठुला सवारी साधनलाई स्थान उपलब्ध गराउन सहजिकरण गर्ने तयारी गरेको उनले बताए । पार्किङको लागि जमिनको खोजी भईरहेको गोम्देनको भनाई छ । 
पछिल्लो चरण शनिश्चरेका व्यवसायी बिर्तामोडमा स्थानान्तरण हुने क्रम बढेको छ । स्थानीय व्यवसायीलाई शनिश्चरेमै व्यवसाय गरेर जिविकोपार्जन हुने उपायको खोजीमा नगरपालिका लागेको छ । ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र रहेको शनिश्चरेलाई आफ्नै पहिचान बनाउन सक्ने बजारको रुपमा स्थापित गर्न स्थानीय उत्पादनलाईसमेत प्रोत्साहन गर्ने नीति नगरले लिएको मेयर गोम्देनको भनाई छ । बजार व्यवस्थित बन्ने भएपछि स्थानीय व्यवसायी पनि हर्षित भएका छन् ।