बिर्तामोड । भारतीय हाउजिङ कम्पनी वास्तुबिहारले बिर्तामाेड नगरपालिकाकाे निर्माण प्रक्रिया स्थगित गर्ने आदेश उल्लंघन गरेकाे छ । अनुमति बिनै धमाधम घर निर्माण गरिरहेकाे कम्पनीले निर्माण प्रक्रिया राेक्न नगरले दिएकाे आदेश उल्लंघन गरेकाे हाे ।
बिर्तामोड नगरपालिका-२ मा धमाधम घर निर्माण गरिरहेकाे कम्पनीलाई नगरपालिकाले निर्माण कार्य स्थगित गर्न आदेश दिएकाे थियाे । नगरकाे आदेश साे कम्पनीले अटेर मात्र गरेकाे छैन, निर्माण कार्य पनि निरन्तर सञ्चालन गरिरहेकाे पाइएकाे छ । वास्तुविहारले कम्पनी सञ्चालन गर्नका लागि नगरपालिकाबाट कुनै पनि अनुमति नलिई काम थालेपछि बिर्तामोड नगरपालिका-२ ले निर्माणकार्य रोक्न आदेश दिएको थियो।
कानुनी प्रक्रिया पूरा गरेर मात्रै निर्माणको कार्य अगाडि बढाउन २ नम्बर वडाका अध्यक्ष किशोर पौडेलले दिएको निर्देशन अहिलेसम्म वास्तुबिहारले कार्यान्वयन गरेको छैन । कम्पनीले कुनै पनि कानुनी प्रक्रिया वडामा अगाडि नबढाएको वडाध्यक्ष पौडेलले बताएका छन्। यसका अतिरिक्त वास्तु बिहारले शहरभरी अनुमति बिनै बिज्ञापनका सामग्री राखेकाे छ । बिद्युतका पाेलहरुमा लगाएका प्रचार सामग्री नगरपालिकाले हटाएपनि अन्यत्र भने पूर्ववत अवस्थामै रहेकाे पाइएकाे छ ।
वडाध्यक्ष पौडेलले नगरपालिकामा दर्ता नभएको संरचनाहरूको नक्सा पास नगरिएको लगायतका कारणबाट निर्माणमा रोक लगाउनुपरेको बताएका छन् । 'एक विश्वस्तरीय टाउनसिप, नाराका साथ भवन निर्माण गरेर बिक्री गर्ने कम्पनीको योजना रहेको छ। तर कम्पनीले स्वीकृति नलिँदाखेरि जनता ठगीमा पर्न सक्ने भएका कारण आफूले रोक लगाएको अध्यक्ष पौडेलले बताए ।
वास्तु बिहार कम्पनीका आशिष अधिकारीले भने आफूहरूले जग्गा घेराबारा र मोडल हाउस मात्रै बनाएको बताएको छन्। उनले टेक्नोकल्चर कम्पनी दर्ता गरेर काम सुरु गरेको बताए। उनले अहिलेसम्म कम्पनीका नाममा कुनै पनि जग्गाको स्वामित्व नभएका कारण सबै निर्माण कार्यको स्वामित्व जगन्नाथ खनालको नाममा रहेको जाकारी दिए। तर दर्ता प्रक्रियाका स्वीकृति लिने बारेमा निर्माण कार्य चलिरहँदा समेत उनले प्रक्रिया अगाडि बढाउनुपर्छ भन्न चाहेनन् । उता जग्गा धनी खनालले भने आफूहरूले जग्गा मात्रै दिएको र निर्माण कार्यको स्वामित्व वास्तुविहारले नै लिनुपर्ने बताउँदै आएका छन्।
बिर्तामोड नगरपालिकाका राजस्व शाखा प्रमुख पदम घिमिरेले वास्तुविहार नामको कम्पनी नगरपालिकामा दर्ता नरहेको र हाउजिङ निर्माण गर्न क्षेत्रगत अनुमति लिएर व्यवसाय कर समेत नतिरेको बताएका छन्। वास्तु बिहारका अधिकारीले भने आफूले मेयरसँग कुरा गरेको र मेयरले निर्माण कार्य गर्न स्वीकृति दिएको बताए। फेरि मेयर त अहिले बिरामी हुनुहुन्छ काठमाडौँ हुनुहुन्छ भन्दा उनले उपमेयरसँग कुरा गरेको दाबी गरे।
कुनै पनि कम्पनी सञ्चालन गर्न कम्पनी ऐन अनुसार नै चार किल्ला गर्नुपर्ने, सदियारको स्वीकृति लिनुपर्ने लगायतका थुप्रै प्रक्रियाहरू रहेका छन्। तर यी कुनै पनि प्रक्रिया अहिले वडाबाट अगाडि बढाइएको छैन। अहिले पनि टेक्नोकल्चर कम्पनी अथवा वास्तुबिहारले निर्माण कार्य जारी राखेको छ। अहिले केही प्राविधिक र निर्माण मजदुरहरू सोही ठाउँमा बसेर निर्माण कार्य जारी राखेका छन्।
वास्तु बिहारले अहिले विज्ञापन गरेर घर बुकिङ गर्न आह्वान गरिसकेको छ। यसरी कानुनी प्रक्रिया नै पूरा नगरी बुकिङ आह्वान गर्दा सर्वसाधारण ठगीमा पर्न सक्ने देखिएको छ। सोही कारणलाई मध्यनजर गर्दै वडा कार्यालयले निर्माण कार्य रोकेको जनाएको छ ।